नेभिगेशन
गुड न्युज

एनआईसी एशिया बैंकबाट एप्पल पे र गुगल पे मार्फत भुक्तानी लिन सकिने

एनआईसी एशिया बैंकका विद्युतीय वाणिज्य भुक्तानी प्रणालीमा आबद्ध व्यवसायीले अब एप्पल पे र गुगल पे प्रयोगकर्ताबाट सहज रूपमा भुक्तानी लिन सक्ने भएका छन्। बैंकले नेपालमै पहिलोपटक एप्पल पे र गुगल पे अन्तर्गतका भिसा तथा मास्टरकार्ड प्रयोगकर्ताबाट भुक्तानी स्वीकार गर्न सकिने सुविधा सुरु गरेको हो।

यस सुविधाअन्तर्गत बैंकको साइबरसोर्स भुक्तानी प्रणालीमा आबद्ध भएका तथा आबद्ध हुन चाहने व्यवसायीले विश्वभर रहेका एप्पल पे तथा गुगल पे प्रयोगकर्ताबाट आफ्नो विद्युतीय वाणिज्य प्रणालीमार्फत सहज र सुरक्षित रूपमा भुक्तानी स्वीकार गर्न सक्नेछन्।

एप्पल पे र गुगल पे विश्वव्यापी रूपमा प्रयोग हुने मोबाइलमा आधारित डिजिटल भुक्तानी माध्यम हुन्। यी माध्यममार्फत ग्राहकले भौतिक रूपमा कार्ड प्रयोग गर्नुपर्ने झन्झट हटाउँदै आफ्नो कार्डको विवरण मोबाइल उपकरणमा सुरक्षित रूपमा राखेर भुक्तानी गर्न सक्छन्। यसले अन्तर्राष्ट्रिय ग्राहकलाई सरल, सहज र सुरक्षित भुक्तानी अनुभव प्रदान गर्नेछ।

विशेषगरी होटल, पर्यटन तथा यात्रा, हस्तकला, हवाई सेवा, विद्युतीय वाणिज्य तथा सूचना प्रविधि क्षेत्रका व्यवसायीले यस सुविधाबाट लाभ लिन सक्नेछन्। बैंकको साइबरसोर्स भुक्तानी प्रणालीमा आबद्ध व्यवसायीले अन्तर्राष्ट्रिय ग्राहकबाट एप्पल पे तथा गुगल पे मार्फत भुक्तानी स्वीकार गर्न सक्नेछन्।

बैंकका अनुसार यस सुविधाले नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रिय ग्राहकका लागि थप सहज, परिचित र सुरक्षित भुक्तानी अनुभव उपलब्ध गराउन सहयोग गर्नेछ। विशेषगरी पर्यटन तथा आतिथ्य, यात्रा, विद्युतीय वाणिज्य, सूचना प्रविधि, निर्यातलगायत अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी प्राप्त गर्ने व्यवसायका लागि यो सुविधा उपयोगी हुने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय ग्राहकले परिचित डिजिटल भुक्तानी माध्यमबाट नेपालका व्यवसायीलाई भुक्तानी गर्न सक्ने भएपछि नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारमा आफ्नो सेवा तथा उत्पादन विस्तार गर्न थप सहयोग पुग्ने बैंकको अपेक्षा छ। साथै, यसबाट विदेशी मुद्रा आर्जनका अवसरसमेत बढ्ने विश्वास बैंकले लिएको छ।

नेपालमा पहिलोपटक सुरु गरिएको यस भुक्तानी सुविधाले डिजिटल भुक्तानीलाई थप सहज, सरल र सुरक्षित बनाउनुका साथै व्यवसायीको कारोबार विस्तारमा सहयोग पुग्ने बैंकले जनाएको छ। यसले नेपालको पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुर्‍याउँदै देशको अर्थतन्त्र तथा अन्तरदेशीय भुक्तानी प्रणालीमा नयाँ आयाम थप्ने बैंकको विश्वास छ।
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप गुड न्युज