डिजिटल लचिलोपन, डिजिटल सुशासन, डेटा गभर्नेन्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल सार्वजनिक सेवा तथा डिजिटल अर्थतन्त्रको विकासमा केन्द्रित डिजिटल नेपाल कन्क्लेभ २०२६ सम्पन्न भएको छ।
आईसीटी फाउन्डेसन नेपालले ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना गरेको कन्क्लेभको पाँचौँ संस्करण ‘Building Digital Resilience: Redefining the Governance, Data and the Digital Economy’ भन्ने मूल नाराका साथ आयोजना गरिएको हो।
कन्क्लेभमा सरकार, संघीय संसद्, स्थानीय सरकार, निजी क्षेत्र, प्रविधि उद्योग, स्टार्टअप, लगानीकर्ता, प्राज्ञिक क्षेत्र, विकास साझेदार तथा युवा नवप्रवर्तकहरूको सहभागिता थियो।
कार्यक्रममा विपद्का समयमा समेत प्रभावकारी रूपमा सञ्चालन हुन सक्ने डिजिटल प्रणाली, विश्वसनीय डेटा, नागरिककेन्द्रित डिजिटल सेवा, जिम्मेवार एआई प्रयोग तथा डिजिटल अर्थतन्त्रको विकासबारे विभिन्न सत्रमा छलफल गरिएको थियो।

डिजिटल सुशासन र विपद् प्रतिरोधी डिजिटल प्रणाली
कन्क्लेभको उद्घाटन सत्र ‘Governance & Resilience: Architecting the Digital Foundation’ विषयमा केन्द्रित थियो।
आईसीटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्साल र फाउन्डेसनका संरक्षक तथा काठमाडौं विश्वविद्यालयका पूर्व डिन प्रा. डा. मनिष पोखरेलले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रममा ‘Digital Nepal: The Journey’ शीर्षकको भिडियो डकुमेन्ट्रीसमेत प्रस्तुत गरिएको थियो।
सत्रमा ‘Data from Disaster: Nepal’s 2026 Flash Floods’ शीर्षकमा विपद्बाट प्राप्त डेटा र डिजिटल अनुभवलाई भविष्यमा थप लचिलो डिजिटल प्रणाली निर्माणसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्रस्तुति दिइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार वा सरकारी सेवाको आधुनिकीकरणमा मात्र सीमित गर्न नहुने बताएका थिए।
उनले डिजिटल रूपान्तरणलाई शासन प्रणाली, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्नेमा जोड दिए। रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीले भौतिक पूर्वाधारसँगै सूचना प्रणाली, सञ्चार सञ्जाल, संस्थागत समन्वय र संकटका समयमा राज्यको तयारीसमेत परीक्षण गरेको उनले बताए।
विपद् तथा संकटका समयमा समेत नागरिकलाई निरन्तर सेवा, सूचना र सञ्चार उपलब्ध गराउन सक्ने दिगो तथा लचिलो डिजिटल प्रणाली आवश्यक रहेको उनले बताए।
विश्वसनीय सूचना, समावेशी कनेक्टिभिटी, सरकारी निकायबीच अन्तरआबद्धता, नागरिककेन्द्रित डिजिटल सेवा तथा डेटा र एआईको जिम्मेवार शासनलाई उनले डिजिटल विकासका महत्वपूर्ण आधारका रूपमा उल्लेख गरे।
यूएनडीपी नेपालका उपआवासीय प्रतिनिधि जुलियन चेभिलार्डले डिजिटल सुशासन, रूपान्तरण र आर्थिक विकासमा डिजिटल लचिलोपनको भूमिकाबारे मुख्य प्रस्तुति दिएका थिए।
विपद् व्यवस्थापनमा डिजिटल सार्वजनिक सेवाको भूमिका
कन्क्लेभको दोस्रो प्रमुख सत्र ‘Digital Public Services: The Gateway for Disaster Response’ विषयमा केन्द्रित थियो।
यस सत्रमा डिजिटल सार्वजनिक सेवाले विपद् पूर्वतयारी, उद्धार तथा पुनःस्थापनालाई कसरी प्रभावकारी बनाउन सक्छ भन्ने विषयमा छलफल गरिएको थियो।

सत्रमा थर्ड फ्याक्टर एआई, कोड एक्स स्कुल र नागरिक एपबाट डिजिटल स्पार्क प्रस्तुति दिइएको थियो। साथै, सरकारी डेटा आदानप्रदान र डिजिटल आर्किटेक्चरसम्बन्धी प्रस्तुति पनि गरिएको थियो।
‘Paradigms of Data Governance: Can Nagarik App Become Nepal’s Digital Gateway and Disaster Alert Hub?’ शीर्षकको प्यानलमा संघीय संसद्, जल तथा मौसम विज्ञान विभाग, सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालय, डिजिटल राइट्स नेपाल र वित्तीय क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।
प्यानलमा नागरिक एपलाई डिजिटल सार्वजनिक सेवाको गेटवे तथा विपद् सूचना र अलर्टको माध्यमका रूपमा विस्तार गर्न सकिने सम्भावनाबारे छलफल भएको थियो।
त्यस क्रममा जिम्मेवार डेटा व्यवस्थापन, डिजिटल अधिकार, स्थानीय सरकारको भूमिका, वित्तीय क्षेत्रसँगको सहकार्य तथा विपद्सम्बन्धी सूचना प्रणालीलाई एकीकृत डिजिटल संरचनामा जोड्ने विषयसमेत उठाइएको थियो।
नेपालमा एआई सार्वभौमिकता र डेटा गभर्नेन्स
कन्क्लेभको तेस्रो प्रमुख विषय ‘AI Sovereignty & Data: Intelligence for a Resilient Nation’ थियो।
यस सत्रमा राष्ट्रिय डेटा सार्वभौमिकता, एआई पूर्वाधार, डेटा व्यवस्थापन, जिम्मेवार तथा नैतिक एआई, नीति निर्माण र राष्ट्रिय एआई क्षमता विकासबारे छलफल गरिएको थियो।
सत्रमा काटा हो, NAS-IT को इन्डस्ट्री–इन्टिग्रेटेड डिग्री (IID) तथा Education Data and Findings लगायतबाट डिजिटल स्पार्क प्रस्तुति दिइएको थियो।

काठमाडौं विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिङका डिन प्रा. डा. बालकृष्ण बलले ‘DPI and Ethical AI in Governance: Leveraging Frontier Tech as a Strategic Enabler’ शीर्षकमा मुख्य प्रस्तुति दिएका थिए।
त्यसपछि ‘Building Nepal’s AI Sovereignty: Infrastructure, Data, Governance’ शीर्षकमा प्यानल छलफल गरिएको थियो।
प्यानलमा नेपालमा जिम्मेवार एआई इकोसिस्टम निर्माणका लागि डेटा सुरक्षा, पूर्वाधार, शासन प्रणाली, नीति तथा दक्ष जनशक्तिको आवश्यकता लगायतका विषयमा छलफल गरिएको थियो।
डिजिटल अर्थतन्त्र, नवप्रवर्तन र लगानी
कन्क्लेभको चौथो प्रमुख सत्र ‘The Digital Economy Engine: Prosperity through Sustainable Innovation’ विषयमा केन्द्रित थियो।
यस सत्रमा डिजिटल नवप्रवर्तन, लगानी, फिनटेक, पारदर्शिता, उद्यमशीलता तथा भविष्यका लागि आवश्यक डिजिटल जनशक्ति विकासबारे छलफल गरिएको थियो।
सोसाइअर ई–कमर्स, लिपि वन र एभरेस्ट क्लाउडलगायतले डिजिटल स्पार्क प्रस्तुति दिएका थिए।
‘Unlocking Digital Nepal: Advancing Digital Transparency, Innovation and Digital Economy’ शीर्षकको प्यानलमा लगानी बोर्ड नेपाल, एसियाली विकास बैंक, विश्व बैंक तथा Institute for Integrated Development Studies का प्रतिनिधिहरू सहभागी थिए।
प्यानलमा डिजिटल रूपान्तरण, पारदर्शिता, लगानी, नवप्रवर्तन, वित्तीय प्रविधि र डिजिटल जनशक्ति विकासका विषयमा छलफल गरिएको थियो।

नेपालमा प्रविधिमा आधारित उद्यमशीलताको सम्भावना विस्तार गर्ने, लगानीको वातावरण बलियो बनाउने र नवप्रवर्तनलाई आर्थिक वृद्धिसँग जोड्ने विषयमा समेत छलफल भएको थियो।
नेपाली प्रविधि तथा डिजिटल समाधानको प्रदर्शनी
डिजिटल नेपाल कन्क्लेभ २०२६ मा नीतिगत छलफलसँगै नेपाली प्रविधि कम्पनी तथा नवप्रवर्तकहरूले विकास गरेका विभिन्न डिजिटल समाधानसमेत प्रस्तुत गरिएको थियो।
डिजिटल स्पार्क सत्रमा TingTing, Code X School, Third Factor AI, Nagarik App, Kata Ho, NAS-IT IID, Sociair E-commerce, Lipi One, Everest Cloud, Ancoda Lab र Sky IT लगायतका कम्पनी तथा पहलहरूका प्रस्तुति समावेश थिए।
TingTing ले TingTing Omni Live Interaction, TingTing Outbound र TingTing Responsive Agent लगायतका समाधानको प्रत्यक्ष प्रदर्शन गरेको थियो।
यसले नेपाली प्रविधि कम्पनी तथा नवप्रवर्तकलाई नीति निर्माता, लगानीकर्ता, विकास साझेदार, निजी क्षेत्र तथा अन्य सरोकारवालासमक्ष आफ्ना प्रविधि तथा समाधान प्रस्तुत गर्ने अवसर प्रदान गरेको थियो।
डिजिटल रोडम्याप २०२७ मा नेतृत्व संवाद
कन्क्लेभको अन्तिम चरणमा ‘Leadership Dialogue: Digital Roadmap to 2027’ शीर्षकमा नेतृत्व संवाद आयोजना गरिएको थियो।
संवादमा नेपालको डिजिटल उद्योग, नवप्रवर्तन तथा लगानीलाई अगाडि बढाउने विषयमा छलफल गरिएको थियो।
पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य जगदीश खरेलले समापन मन्तव्य दिँदै नेपालमा प्रविधि तथा नवप्रवर्तनप्रति बढ्दो चासोले सूचना प्रविधि क्षेत्रको सम्भावना देखाएको बताए। उनले प्रविधि तथा आईसीटी क्षेत्रको विकासका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

डिजिटल नेपालका लागि साझा संवादको मञ्च
आईसीटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले डिजिटल नेपाल निर्माणका लागि सरकार, निजी क्षेत्र, प्रविधि उद्योग, अन्तर्राष्ट्रिय साझेदार तथा अन्य सरोकारवालाबीच संवाद र सहकार्यलाई निरन्तरता दिन कन्क्लेभले भूमिका खेल्दै आएको बताए।
उनका अनुसार यस वर्षको डिजिटल नेपाल कन्क्लेभले डिजिटल सार्वजनिक सेवा, डेटा, आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल अर्थतन्त्र र नेपाली नवप्रवर्तनलाई डिजिटल लचिलोपनको अवधारणासँग जोडेर छलफल गरेको छ।
कन्क्लेभमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। विभिन्न सत्रमा प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित समाधान र पहलहरू पनि प्रस्तुत गरिएको थियो।
समग्रमा, डिजिटल नेपाल कन्क्लेभ २०२६ ले नेपालको डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तारमा मात्र सीमित नगरी सुशासन, सार्वजनिक सेवा प्रवाह, डेटा, एआई, आर्थिक विकास र राष्ट्रिय लचिलोपनसँग जोडेर अघि बढाउनुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएको छ।
इन्द्रजात्रा २०८३ मा गल्ली म्याप्सको लाइभ लोकेसन र रिराउटिङसहित नयाँ फिचर
विद्यार्थीको करियर विकासलाई बलियो बनाउन प्राइम कलेज र इन्टर्नसाथीबीच सहकार्य
सेन्ट जेभियर्स कलेजमा ‘नेपाल अध्ययन संवाद २.०’ सम्पन्न
रेमिट्यान्सलाई दैनिक डिजिटल भुक्तानीसँग जोड्दै इसेवा
इन्टरनेट सेवा नदिएको भन्दै क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने

