कफीको फोहोरबाट च्याउ उत्पादन गर्ने दिगो व्यवसायिक अवधारणा प्रस्तुत गरेको ख्वप कलेज अफ इन्जिनियरिङको प्रतिनिधित्व गरेको टोली फ्लक्सेलले हल्ट प्राइज नेपाल २०२६ को राष्ट्रिय उपाधि जितेको छ।
शनिबार सेन्ट जेभियर कलेज जावलाखेलमा आयोजित राष्ट्रिय फाइनलमा नेपालभरका विभिन्न विश्वविद्यालय तथा कलेजका ४६ टोली र १६० भन्दा बढी सहभागीहरू सहभागी भएका थिए। प्रतियोगिताले वातावरणीय, सामाजिक तथा आर्थिक चुनौती समाधान गर्ने नवप्रवर्तनशील व्यवसायिक अवधारणाहरू प्रस्तुत गर्ने मञ्च प्रदान गरेको थियो।
टोली फ्लक्सेल्लेले कफीबाट निस्कने फोहोरलाई उपयोग गरेर जैविक तथा खाद्य च्याउ उत्पादन गर्ने ‘चक्रीय अर्थतन्त्र’मा आधारित अवधारणा प्रस्तुत गर्दै निर्णायकहरूको ध्यान आकर्षित गरेको थियो। उक्त पहलले कफीजन्य फोहोरबाट हुने वातावरणीय प्रदूषण घटाउनुका साथै दिगो कृषि र वातावरणमैत्री खाद्य उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
विजेता टोली दुई चरणको प्रतिस्पर्धापछि छनोट गरिएको थियो। प्रतियोगितामा प्रारम्भिक प्रस्तुति चरण र अन्तिम चरणमा विस्तृत प्रस्तुतीकरण तथा निर्णायकहरूसँग प्रत्यक्ष छलफल समावेश गरिएको थियो।
प्रतियोगिताको निर्णायक मण्डलमा उद्यमशीलता, लगानी, प्रविधि, उत्पादन, स्वास्थ्य सेवा तथा दिगो विकास क्षेत्रका १४ जना विज्ञ तथा उद्योग नेतृत्वकर्ताहरू सहभागी थिए। निर्णायकहरूमा निकिता बज्राचार्य, रितु सिंह वैद्य, श्रद्धा श्रेष्ठ, आशिष ठाकुर, दर्शना श्रेष्ठ, चेवान राई, जोन बी पार्क, दीपक केसी, उज्जवल राज सिंह, श्रिषा श्रेष्ठ, प्रदीप सिग्देल, अभिनव खेम्का, सुदर्शन सुवेदी तथा सन्दीप कामत रहेका थिए ।
राष्ट्रिय विजेताका रूपमा टोली फ्लक्सेलले ब्रिटिस काउन्सिलबाट प्रदान गरिएको एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको थियो। कार्यक्रम युबीए सोलुसन्स नेपालले आयोजना गरेको थियो। साथै टोलीले सीएनवाईईएफ बाट ५० हजार रुपैयाँ बीउ पूँजी, विभिन्न उपहार सामग्री, भौचर तथा अन्य सहयोगसमेत प्राप्त गरेको थियो।
कार्यक्रममा ब्रिटिस काउन्सिल, युबीए सोलुसन्स, बीवाईडी, सीएनवाईईएफ, एनवाईईएफ, अमेरिकन लर्निङ सेन्टर, एक्रोन विश्वविद्यालय, क्लासिक टेक, ड्रयापर स्टार्टअप हाउस तथा इम्बार्क कलेज लगायतका संस्थाहरूको सहयोग रहेको थियो।
राष्ट्रिय उपाधि जितेसँगै टोली फ्लक्सेलले आगामी हल्ट प्राइज ग्लोबल एक्सिलेरेटर कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्नेछ, जहाँ उसले विश्वभरका उत्कृष्ट विद्यार्थी उद्यमीहरूसँग प्रतिस्पर्धा गर्नेछ।
हल्ट प्राइज विश्वकै प्रतिष्ठित विद्यार्थी-केन्द्रित स्टार्टअप प्रतियोगितामध्ये एक मानिन्छ, जसले युवाहरूलाई सामाजिक प्रभाव पार्ने व्यवसाय निर्माणमार्फत विश्वका जटिल चुनौतीहरूको समाधान खोज्न प्रेरित गर्दै आएको छ।
२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
नेसनल प्याब्सनसहित अभिभावक संघबिच ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ मा छलफल, सरकारसँग संवाद अघि बढाइने
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
अर्थतन्त्रलाई नयाँ दिशादिनेगरी बजेट आएको छ: अध्यक्ष पाण्डे
स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्छ: उपाध्यक्ष श्रेष्ठ
बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ: कमलेश अग्रवाल
एसेट म्यानेजमेन्ट कम्पनीको मोडालिटी कानूनमै स्पष्ट पार्छौं: कार्यकारी निर्देशक पौडेल
