काठमाडौं । सेन्ट जेभियर्स कलेज, माइतीघरमा ‘नेपाल अध्ययन संवाद २.०’ सम्पन्न भएको छ। कलेजको अंग्रेजी विभागअन्तर्गत मेजर आर्ट्स विभागले आयोजना गरेको संवादमा विद्यार्थी, प्राध्यापक, विज्ञ तथा विभिन्न क्षेत्रका अभ्यासकर्ताहरूले नेपालको विगत, वर्तमान र भविष्यबारे अर्थपूर्ण तथा आलोचनात्मक छलफल गरेका थिए।
‘नेपाल हामीले पाएको, नेपाल हामीले परिकल्पना गरेको’ विषयवस्तुमा केन्द्रित कार्यक्रम बीए चौथो वर्षको अनिवार्य पाठ्यक्रमअन्तर्गत आयोजना गरिएको हो। कार्यक्रमले नेपालको ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा अन्तर्राष्ट्रिय अवस्थाबारे विद्यार्थीलाई आलोचनात्मक रूपमा बुझ्ने र स्थापित भाष्यलाई विभिन्न दृष्टिकोणबाट पुनर्विचार गर्ने अवसर प्रदान गरेको थियो।
कार्यक्रममा ‘पुनर्कल्पनाको नेपालः आलोचनात्मक दृष्टिकोणबाट इतिहास र विकास’ र ‘सामाजिक विविधतामा सद्भावको विकास’ विषयमा दुईवटा प्यानल छलफल आयोजना गरिएको थियो। छलफलमा कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, मानवशास्त्र, संस्कृति, पर्यटन तथा सार्वजनिक सेवाका क्षेत्रका विज्ञ सहभागी थिए।
कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्वराजदूत प्रा. डा. जय राज आचार्य, त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागकी प्रमुख अपेक्षा शाह, त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डा. जनक राई तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठ सहभागी थिए।
प्यानल छलफलमा नेपालको इतिहास, विकास, राजनीतिक प्रणाली, अर्थतन्त्र, वैदेशिक सम्बन्ध, संस्कृति, पहिचान, सामाजिक विविधता, सम्पदा तथा पर्यटनलगायत विषयमा छलफल गरिएको थियो। औपचारिक प्रस्तुतीकरणमा मात्र सीमित नरही कार्यक्रमलाई अन्तरक्रियात्मक टक–शो शैलीमा सञ्चालन गरिएको थियो। यस क्रममा सञ्चालकले विद्यार्थीका तर्फबाट विज्ञहरूसँग प्रत्यक्ष संवाद गरेका थिए।
कार्यक्रमको महत्वपूर्ण पक्ष विद्यार्थीको प्रश्नोत्तर सत्र पनि थियो। चौथो वर्षका विद्यार्थीले प्यानलमा सहभागी विज्ञसँग प्रत्यक्ष प्रश्न गर्दै छलफलमा सहभागिता जनाएका थिए। छलफलले विद्यार्थीलाई स्थापित भाष्यलाई विभिन्न दृष्टिकोणबाट हेर्न तथा कक्षाकोठामा सिकेका विषयलाई नेपालको समसामयिक अवस्थासँग जोड्न प्रेरित गरेको थियो।
मेजर आर्ट्स विभागका प्रमुख शिशिरकुमार भुसालले ‘नेपाल अध्ययन संवाद २.०’ ले भावी विचार निर्मातालाई नेपालको ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथा राजनीतिक भाष्यलाई पुनर्विचार गर्न अर्थपूर्ण र आलोचनात्मक संवादको मञ्च प्रदान गरेको बताए।
उनले स्थापित भाष्यलाई प्रश्न गर्ने र त्यसमा हस्तक्षेप गर्ने प्रक्रियामा युवाको सहभागिता महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले देशको भविष्यप्रति आशा निर्माण गर्न सहयोग गर्ने बताए।
सेन्ट जेभियर्स कलेजका प्रिन्सिपल फादर डा. अगस्टिन थोमस एसजेले नेपालको गहिरो बुझाइ विकास गर्न विभिन्न दृष्टिकोणलाई एउटै मञ्चमा ल्याउनु महत्वपूर्ण रहेको बताए।
उनले भने, “परिवारका विभिन्न सदस्यका कथा, स्मृति र परम्परा सुन्दा हामीले आफू आबद्ध परिवारलाई अझ समग्र रूपमा बुझ्न सक्छौं। त्यसैगरी, नेपाल अध्ययन संवाद २.० मा प्रस्तुत विविध आवाजले हाम्रा विद्यार्थीलाई आज हामीले अनुभव गरिरहेको नेपाललाई अझ गहिरोसँग बुझ्न सहयोग गरेको छ।”
उनले स्रोत व्यक्तिका विचार र अनुभवले नेपालको इतिहासका विभिन्न आयामलाई एकै ठाउँमा ल्याएको उल्लेख गर्दै ‘एउटा मात्र आवाजले राष्ट्रको सम्पूर्ण कथा भन्न सक्दैन’ भन्ने कुरा विद्यार्थीले बुझ्नुपर्ने बताए। उनले मेजर आर्ट्स विभागको यो पहललाई प्रशंसनीय प्रयासका रूपमा उल्लेख गरे।
कार्यक्रममा विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो। विद्यार्थीले विभिन्न प्रश्न तथा छलफलमार्फत वक्तासँग प्रत्यक्ष संवाद गरेका थिए। कार्यक्रमले विद्यार्थीमा नेपालको पहिचान, विकास, विविधता र भविष्यसम्बन्धी विषयमा गहिरो बुझाइ विकास गर्नुका साथै राष्ट्रिय बहसमा सक्रिय रूपमा सहभागी हुन प्रोत्साहित गर्ने उद्देश्य राखेको थियो।
‘नेपाल अध्ययन संवाद २.०’ सेप्टेम्बर १७, २०२६ मा काठमाडौंको थापाथलीस्थित सेन्ट जेभियर्स कलेजको लोयोला क्याम्पसको चौथो तलामा रहेको मिलर हलमा आयोजना गरिएको हो। यो ‘नेपाल अध्ययन संवाद’ पहलको दोस्रो संस्करण हो। कार्यक्रममार्फत मेजर आर्ट्स विभागले विद्यार्थी र विज्ञबीच अन्तरविषयक संवाद तथा आलोचनात्मक छलफलका लागि मञ्च निर्माण गर्ने आफ्नो प्रयासलाई निरन्तरता दिएको छ।
रेमिट्यान्सलाई दैनिक डिजिटल भुक्तानीसँग जोड्दै इसेवा
इन्टरनेट सेवा नदिएको भन्दै क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ल्यापटप सर्भिसदेखि एक्सचेन्जसम्म सुविधा दिने ‘निओ सर्भिस क्याम्प’
खल्ती र इनड्राइभबीच सहकार्य, चालक र यात्रुलाई पुरस्कार जित्ने अवसर
नेपालमै बनेको इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को मूल्य सार्वजनिक, के के छन् सुविधा ?
