आगामी मंसिर ४ देखि ६ गतेसम्म (नोभेम्बर २० देखि २२, २०८३) काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी अवलोकनकर्तालाई आकर्षक उपहार प्रदान गरिने भएको छ ।
प्रदर्शनी अवधिभर प्रत्येक दिन ५० जना अवलोकनकर्तालाई लक्की ड्रमार्फत विभिन्न कृषि सामग्री उपहार प्रदान गरिने आयोजकले जनाएको छ । लक्की ड्रबाट छनोट हुने विजेताले कृषि मेसिनरी, मल, स्प्रे, मल्चिङ प्लास्टिक, मकै छोडाउने विद्युतीय मेसिनलगायत साना कृषि औजार तथा उपकरण प्राप्त गर्नेछन् । त्यस्तै, लक्की ड्रका प्रमुख विजेतालाई प्रदर्शनीको अन्तिम दिन मिनी ट्रेलर उपहार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, दुई हजारभन्दा बढी कृषि यन्त्र तथा उपकरण र २०० भन्दा बढी स्टल रहने आयोजकको अपेक्षा छ । प्रदर्शनीले आधुनिक कृषि यान्त्रीकरण, नवीन प्रविधि तथा कृषि उपकरणको प्रयोग विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयले सहआयोजकको भूमिका निर्वाह गर्नेछ ।
तीन दिनसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि, हरितगृह, शीतभण्डारणलगायत आधुनिक कृषि प्रविधि प्रदर्शन गरिनेछ । यसले किसान, कृषि उद्यमी तथा कृषि व्यवसायीलाई नवीन प्रविधिबारे जानकारी दिनुका साथै कृषि उत्पादनलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।
४४ हजार ४४४ नेपालीलाई निःशुल्क AI तालिम दिँदै डिजिटल सोलुसन
यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनका दुई स्टल, रैथाने प्रविधिलाई प्राथमिकता
भाेलिदेखि सुरू हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पूरा, ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा
स्वदेशी प्रविधिको बजार विस्तार र अवसरलाई नास–आईटी एक्स्पोमा गहन छलफल हुने
स्वदेशी प्रविधिको बजार विस्तार र अन्तर्राष्ट्रिय पहुँच बढाउन नास–आईटी एक्स्पो
वाईफाई नेपालले ल्यायो आफ्नै मोबाइल एप, इन्टरनेटका सबै सुविधा मोबाइलबाटै
