नेभिगेशन
गुड न्युज

बाजुराको लामो र अग्लो झोलुङ्गे पुल, दुर्गम बस्तीका लागि बन्यो सहारा

बाजुरा । बाजुराको गौमुल गाउँपालिका–३ माझपाली र धौलकाँडा जोड्ने अजयखोलामाथि निर्माण गरिएको झोलुङ्गे पुल अहिले स्थानीयका लागि आवतजावतको सहज माध्यम बनेको छ। लामो दूरी र अग्लो उचाइमा निर्माण गरिएको यो पुल दुर्गम गाउँबस्तीका बासिन्दाका लागि ठूलो राहत बनेको हो।

अजयखोलामाथि निर्माण गरिएको उक्त झोलुङ्गे पुल २६० मिटर लामो र करिब १७० मिटर अग्लो छ। अग्लो र लामो संरचनाका कारण यो पुल पछिल्लो समय ‘भाइरल पुल’ का रूपमा समेत परिचित हुँदै गएको छ।

पहिले खोला वारपार गर्न स्थानीयले विभिन्न कठिनाइ भोग्नुपर्ने अवस्था थियो। विशेषगरी वर्षायाममा खोलामा पानीको बहाव बढ्दा आवतजावत जोखिमपूर्ण हुने गरेको थियो। पुल निर्माण भएपछि स्थानीयलाई खोला वारपार गर्न सहज भएको छ।

गौमुल गाउँपालिका–३ का चारवटा गाउँबस्तीका झन्डै एक हजार ८ सयभन्दा बढी जनसङ्ख्या यस पुलबाट प्रत्यक्ष लाभान्वित भएका छन्। स्थानीयका लागि दैनिक आवतजावत, बजारसम्म पुग्न तथा अन्य आवश्यक कामका लागि पुल महत्त्वपूर्ण माध्यम बनेको छ।

गाउँपालिकाको समन्वयमा स्थानीय विकास पूर्वाधार आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो। असमन चन्द्रोदय जेभी निर्माण कम्पनीले यसको निर्माण गरेको थियो।

भौगोलिक रूपमा विकट मानिने बाजुराका ग्रामीण बस्तीमा सडक तथा अन्य पूर्वाधारको पहुँच अझै चुनौतीपूर्ण छ। यस्तो अवस्थामा झोलुङ्गे पुलले स्थानीयको आवतजावत सहज बनाउनुका साथै गाउँबस्तीबीचको सम्पर्कसमेत विस्तार गरेको छ।

लामो दूरी र अग्लो उचाइमा बनेको अजयखोला झोलुङ्गे पुल अहिले स्थानीय पूर्वाधारको उदाहरणका रूपमा समेत चिनिन थालेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप गुड न्युज
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी