नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) ले आगामी शनिवार र आइतवार ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ ।
‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुने दुईदिने एक्स्पोमा ३० भन्दा बढी नेपाली प्रविधि कम्पनी सहभागी हुनेछन् । यस वर्षको एक्स्पोमा स्थापित प्रविधि कम्पनीका अतिरिक्त नयाँ तथा प्रारम्भिक चरणका कम्पनीलाई समेत लक्षित गरी छुट्टै स्टार्टअप प्याभिलियन थप गरिएको छ । साथै, नेपाली प्रविधि उद्योगको घरेलु बजार, अन्तर्राष्ट्रिय विस्तार र लगानीका सम्भावनाबारे विभिन्न विषयगत छलफल पनि आयोजना हुनेछन् ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले एक्स्पोलाई एकपटकको कार्यक्रमका रूपमा मात्र नभई नेपाली प्रविधि उद्योगको दीर्घकालीन प्रवद्र्धन गर्ने अभियानका रूपमा अघि बढाउन खोजिएको बताए ।
‘यस वर्ष अघिल्लो संस्करणका सिकाइलाई समेटेर धेरै कुरा सुधार गरेका छौँ। हाम्रो उद्देश्य यो कार्यक्रमलाई अहिले मात्र नभई आगामी १० वर्षसम्म निरन्तरता दिँदै नेपालमै विकास भएका प्रविधि, उत्पादन, सेवा र नवप्रवर्तनलाई विस्तार गर्ने मञ्चका रूपमा स्थापित गर्नु हो,’ चापागाईंले भने।
‘हामीले नेपालमै विकास भएका उत्पादन र सेवाको प्रवद्र्धन गर्नुपर्छ। त्यसका लागि खरिदकर्ता र लगानीकर्तालाई जोड्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली उत्पादनको पहिचान बनाउन आवश्यक छ। स्थानीय स्तरमा आयोजना हुने एक्स्पोलाई नै अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन प्रवद्र्धन गर्ने दिशामा अघि बढाउन सकिन्छ भन्ने हाम्रो विश्वास हो,’ उनले भने।
नास–आईटीकी महासचिव श्रेया श्रेष्ठले नेपाली सूचना प्रविधि क्षेत्रको सम्भावना र त्यसको तुलनामा घरेलु बजारमा रहेको सीमित पहिचानलाई एक्स्पोले सम्बोधन गर्न खोजेको बताइन्।
उनका अनुसार सन् २०२४ मा नेपाली टाइम्समा प्रकाशित एक प्रतिवेदनले नेपालको सूचना प्रविधि सेवा निर्यात करिब ४० करोड अमेरिकी डलर पुगेको उल्लेख गरेको थियो । त्यस्तै, सन् २०२१ देखि २०२३ सम्मको अवधिमा सूचना प्रविधि सेवा निर्यातमा ६४ प्रतिशत वृद्धि भएको तथ्यांकले यस क्षेत्रको विस्तारको सम्भावना देखाएको उनको भनाइ छ ।
नेपालमा उपलब्ध दक्ष जनशक्ति र प्रविधि कम्पनीले विकास गरेका सफ्टवेयर तथा सेवाको अन्तर्राष्ट्रिय बजारमा माग बढिरहेको भए पनि देशभित्रै ती उत्पादन र सेवाबारे पर्याप्त जानकारी तथा प्रयोग हुन नसकेको श्रेष्ठले बताइन् ।
श्रेष्ठले सरकारले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई सूचना प्रविधि दशकका रूपमा अघि बढाउने लक्ष्यसहित सूचना प्रविधि सेवा निर्यात ३० अर्ब रुपैयाँ पु¥याउने र पाँच लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको प्रसंग पनि उल्लेख गरिन्।
उनका अनुसार एक्स्पोको उद्देश्य चारवटा मुख्य पक्षमा केन्द्रित छ। पहिलो, नेपालमा विकास भएका प्रविधि तथा उत्पादनलाई प्रत्यक्ष प्रदर्शनमार्फत बजारमा स्थापित गर्ने। दोस्रो, नेपाली प्रविधि कम्पनीलाई सरकारी निकाय, बैंक तथा वित्तीय संस्था, कर्पोरेट क्षेत्र र लगानीकर्तासँग जोड्ने। तेस्रो, नेपाली उत्पादन र सेवाको प्रयोग बढाएर घरेलु बजार विस्तार गर्ने। र चौथो, नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने प्रविधि केन्द्रका रूपमा स्थापित गर्ने।
वाईफाई नेपालले ल्यायो आफ्नै मोबाइल एप, इन्टरनेटका सबै सुविधा मोबाइलबाटै
आईएमई ग्रुपको ‘भाइस प्रेसिडेन्ट’ पदमा जगदीश खड्का नियुक्त
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सञ्चालक समितिका लागि आठ विज्ञ सदस्य सिफारिस गर्न सार्वजनिक सूचना
सात क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने सरकारको तयारी
साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो #VisitNepal अभियान
