राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सञ्चालक समितिमा आठ जना विज्ञ सदस्य मनोनयनका लागि सरकारले योग्य तथा अनुभवी व्यक्तिहरूबाट सिफारिस माग गरेको छ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) ऐन, २०८३ बमोजिम सञ्चालक समिति गठन गर्ने प्रयोजनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै योग्य व्यक्तिहरूको व्यक्तिगत विवरण (सीभी) माग गरेको हो।
ऐनको दफा ६ को उपदफा (१) को खण्ड (ग) र (घ) बमोजिम सदस्य मनोनयन गर्नुपर्ने भएकाले सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई योग्य व्यक्तिको सिफारिससहित व्यक्तिगत विवरण उपलब्ध गराउन मन्त्रालयले अनुरोध गरेको छ।
सूचनाअनुसार चार जना सदस्य विधि विज्ञानसँग सम्बन्धित विषयमा शैक्षिक योग्यता र कार्यअनुभव भएका विज्ञमध्येबाट मनोनयन गरिनेछ। यसका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट विधि विज्ञानसम्बन्धी विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा १० वर्ष, स्नातकोत्तर तह उत्तीर्ण गरी कम्तीमा पाँच वर्ष वा विद्यावारिधि हासिल गरी कम्तीमा तीन वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ। यी चार जनामध्ये कम्तीमा दुई जना महिला हुनुपर्ने व्यवस्था छ।
त्यस्तै, थप चार जना सदस्य विधि विज्ञान चिकित्सा, रसायन विज्ञान, जीव विज्ञान, भौतिक विज्ञान वा विधि विज्ञानसँग सम्बन्धित विभिन्न विषयका सहप्राध्यापकमध्येबाट मनोनयन गरिनेछ। यस समूहमा पनि फरक–फरक विधाको प्रतिनिधित्व हुने गरी कम्तीमा दुई जना महिलासहित सदस्य चयन गरिने मन्त्रालयले जनाएको छ।
योग्य व्यक्तिको सिफारिससहितको व्यक्तिगत विवरण सूचना प्रकाशित भएको मितिले सात दिनभित्र मन्त्रालयमा वा info@mosti.gov.np इमेलमार्फत पठाउन सकिनेछ।
सञ्चालक समितिले प्रयोगशालाको विकास तथा विस्तारका लागि नीति निर्धारण गर्ने र प्रयोगशालाको कामकारबाही व्यवस्थित बनाउन आवश्यक निर्देशन दिने व्यवस्था ऐनमा गरिएको छ।

सात क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने सरकारको तयारी
साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो #VisitNepal अभियान
एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड
नेपाली कला, संस्कृति र प्राकृतिक सौन्दर्य समेटिएको गीत ‘यात्रा–खुला किताब हो’ सार्वजनिक
एभ्री बाउन्ड्री काउन्ट्स: एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा
