नेभिगेशन
प्रविधि

सात क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने सरकारको तयारी

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले सातवटा प्राविधिक क्षेत्रमा विशिष्टीकृत अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने तयारी गरेको छ। यसका लागि मन्त्रालयले सम्बन्धित क्षेत्रका वैज्ञानिक, विज्ञ तथा अनुसन्धानकर्ताबाट अनुमानित लागतसहितको अवधारणापत्र आह्वान गरेको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ बमोजिम मन्त्रालयअन्तर्गत रहने विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन कोषमार्फत लगानी गर्ने उद्देश्यले केन्द्र स्थापना तथा सञ्चालनको तयारी गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले औद्योगिक तथा कृषि औजार, उपकरण र मेसिनरी; विद्युतीय तथा इलेक्ट्रोनिक्स; स्वस्थ खाद्य परिकार तथा पेय पदार्थ; ड्रोन तथा एरोनटिकल; आयुर्वेद, जडीबुटी तथा वन पैदावार; बायोमेडिकल इन्जिनियरिङ र कृषिजन्य फोहोरको मूल्यवर्धनका क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्न लागेको हो।

त्यस्तै, उल्लेखित क्षेत्रबाहेक राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा अन्य नवीन तथा उदीयमान प्राविधिक क्षेत्रमा समेत केन्द्र स्थापनाका लागि अवधारणापत्र पेश गर्न सकिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले इच्छुक व्यक्ति तथा संस्थालाई प्रस्तावित केन्द्रको स्थापना र सञ्चालनको योजना, आवश्यक पूर्वाधार तथा अनुमानित लागत समेटिएको अवधारणापत्र पेश गर्न आग्रह गरेको छ।

अवधारणापत्र मन्त्रालयको इमेल ठेगाना info@mosti.gov.np वा ह्वाट्सएप नम्बर ९८४१५९२३६१ मार्फत उपलब्ध गराउन सकिनेछ।

मन्त्रालयका अनुसार उपयुक्त अवधारणापत्र पेश गर्ने व्यक्ति वा संस्थालाई कदरपत्रसहित सम्मानसमेत गरिनेछ।

WhatsApp-Image-2026-11-13-at-7.21.31-PM-1794879764.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रविधि