नेभिगेशन
गुड न्युज

इन्द्रजात्रा २०८३ मा गल्ली म्याप्सको लाइभ लोकेसन र रिराउटिङसहित नयाँ फिचर

काठमाडौंको ऐतिहासिक इन्द्रजात्रालाई लक्षित गर्दै गल्ली म्याप्सले ‘इन्द्रजात्रा लाइभ लोकेसन फिचर’ सार्वजनिक गरेको छ। नयाँ फिचरमार्फत जात्राका सांस्कृतिक गतिविधि, सार्वजनिक सुविधा र ट्राफिक व्यवस्थापनसम्बन्धी जानकारी डिजिटल नक्सामा उपलब्ध गराइएको छ।

बिहीबार आयोजित कार्यक्रममा गल्ली म्याप्सको तर्फबाट काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोललाई जीपीएस हस्तान्तरण गर्दै फिचर सार्वजनिक गरिएको हो।

नयाँ फिचरमा इन्द्रजात्राका विभिन्न गतिविधि तथा सांस्कृतिक पात्रको स्थानसम्बन्धी जानकारी समावेश गरिएको छ। प्रयोगकर्ताले लाखे, पुलुकिसी, दागिन, सवा भकु लगायतका गतिविधिको स्थान गल्ली म्याप्समार्फत हेर्न सक्नेछन्।

यसअघि गल्ली म्याप्समा मुख्यतः जात्राका गतिविधि तथा रथको लाइभ लोकेसन हेर्न सकिने व्यवस्था थियो। यस वर्ष भने फिचरलाई विस्तार गर्दै जात्रामा सहभागी तथा अवलोकन गर्न आउने सर्वसाधारणका लागि आवश्यक अन्य जानकारीसमेत थपिएको हो।

जात्रा क्षेत्रका पार्किङ स्थल, सार्वजनिक शौचालय र खानेपानी उपलब्ध हुने स्थानको जानकारी पनि नक्सामा राखिएको छ। यसले जात्रा अवलोकनका क्रममा आवश्यक सेवा तथा सुविधाको स्थान पहिचान गर्न सहयोग पुग्ने बताइएको छ।

इन्द्रजात्राका क्रममा रथयात्रा, भीडभाड तथा सडक व्यवस्थापनका कारण प्रभावित हुने सडकलाई ध्यानमा राखेर रिराटिङ फिचर पनि थपिएको छ। यसमार्फत प्रयोगकर्ताले प्रभावित सडकको जानकारी लिनुका साथै वैकल्पिक मार्ग पहिचान गर्न सक्नेछन्।

गल्ली म्याप्सले इन्द्रजात्राका विभिन्न स्थानमा हुने गतिविधिलाई एउटै डिजिटल नक्सामा जोडेको जनाएको छ। यसबाट प्रयोगकर्ताले आफूले हेर्न चाहेको गतिविधि, त्यसको स्थान र त्यहाँ पुग्ने मार्गबारे जानकारी लिन सक्नेछन्।

इन्द्रजात्रा २०८३ का लागि उपलब्ध गराइएको फिचरमा लाइभ लोकेसन तथा डिजिटल ट्र्याकिङ, सांस्कृतिक गतिविधिको जानकारी, पार्किङ, शौचालय तथा खानेपानी स्टेशनको स्थान, प्रभावित सडक र वैकल्पिक मार्गसम्बन्धी सुविधा समावेश छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप गुड न्युज