र्यापिड टेकले आफ्नो एपीआई बैंकिङ प्लेटफर्मलाई व्यावसायिक सफ्टवेयर प्रणालीमा एकीकृत गर्ने उद्देश्यले नौवटा ईआरपी तथा बिजनेस सफ्टवेयर कम्पनीसँग साझेदारी गरेको छ।
र्यापिड टेकले आईएमएस (IMS), स्वस्तिक (Swastik), सीएमटी बोस (CMT Boss), रेस्ट्रोएक्स (RestroX), सिनर्जी टेक (Synergy Tech), इन्फिकेयर (Inficare), सोर्स कोड (Source Code), क्रसओभर (Crossover) र डल्फिन (Dolphin) सँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो।
यस साझेदारीमार्फत व्यवसायले आफूले प्रयोग गर्दै आएका ईआरपी तथा बिजनेस सफ्टवेयर प्रणालीबाटै बैंकिङ विवरण प्राप्त गर्न र वित्तीय कारोबार व्यवस्थापन गर्न सक्नेछन्। र्यापिडको एपीआईमार्फत बैंक खाताको मौज्दात हेर्न, स्टेटमेन्ट प्राप्त गर्न र बैंक कारोबारलाई लेखा अभिलेखसँग स्वतः मिलान गर्न सकिनेछ।
र्यापिड टेकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आशितोष साहका अनुसार व्यवसायको वित्तीय व्यवस्थापनलाई सहज बनाउनु यस प्लेटफर्मको मुख्य उद्देश्य हो।
बैंक स्टेटमेन्ट र ईआरपीमा रहेका लेखा अभिलेखबीच स्वतः मिलान हुने व्यवस्था हुँदा कारोबार जाँच्न लाग्ने समय घट्ने र वित्तीय टोलीले अन्य काममा ध्यान दिन सक्ने उनले बताए।
त्यस्तै, विभिन्न बैंकमा खाता भएका व्यवसायले प्रत्येक बैंकको पोर्टलमा छुट्टाछुट्टै लगइन नगरी एउटै ईआरपी प्रणालीबाट आफ्नो समग्र नगद अवस्था हेर्न सक्नेछन्। र्यापिडले बैंक खाताको वास्तविक मौज्दात र तत्काल प्रयोग गर्न उपलब्ध रकमको विवरण ईआरपीमा उपलब्ध गराउने भएकाले व्यवसायलाई नगद प्रवाह र ट्रेजरी व्यवस्थापनमा सहज हुने कम्पनीको विश्वास छ ।
थप सुविधा ल्याउने तयारी
र्यापिडले आगामी चरणमा भुक्तानी अनुरोध (Request to Pay), एपीआईमार्फत खाता खोल्ने सुविधा, प्रत्यक्ष डेबिट (Direct Debit) र मार्जिन लेन्डिङ तथा ट्रेडिङका लागि भर्चुअल अकाउन्टजस्ता सुविधा थप्ने तयारी गरेको छ।
र्यापिडको दीर्घकालीन लक्ष्य नेपालमा एम्बेडेड फाइनान्सको विस्तार गर्नु हो। यस अवधारणाअन्तर्गत ग्राहक तथा व्यवसायले पहिलेदेखि नै प्रयोग गर्दै आएका डिजिटल प्लेटफर्मभित्रै भुक्तानी, खाता, रकम संकलन र कर्जाजस्ता वित्तीय सेवा उपलब्ध गराउन सकिन्छ।
‘व्यवसायले आफ्नो दैनिक कामका लागि प्रयोग गर्ने सफ्टवेयरबाटै बैंकिङ सेवा लिन सक्ने वातावरण बनाउनु एम्बेडेड फाइनान्सको मूल अवधारणा हो। यसमा बैंकले वित्तीय सेवा उपलब्ध गराउँछन्, व्यवसायले आफ्नै प्रणालीबाट ती सेवा प्रयोग गर्छन् र र्यापिडले दुवैलाई जोड्ने प्राविधिक पूर्वाधारको काम गर्छ,’ साहले भने।
र्यापिडको यो अवधारणाले बैंकिङ सेवामा पहुँच सहज बनाउनुका साथै व्यवसायका दैनिक वित्तीय प्रक्रियालाई थप एकीकृत र स्वचालित बनाउने लक्ष्य राखेको छ।
सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने
सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’
आईक्यान र टिगबीच सहकार्य, सदस्य फर्म र विद्यार्थीले निःशुल्क क्लाउड अकाउन्टिङ प्रयोग गर्न पाउने
प्रा.डा. सुदन झा लगातार दोस्रो वर्ष विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा
