नेभिगेशन
प्रविधि

खल्ती होटल्स सेवा सञ्चालनमा, अब एउटै एपबाट होटल, उडान र बस बुकिङ

आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्नो सेवा विस्तार गर्दै ‘खल्ती होटल्स’ (Khalti Hotels) औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । यस नयाँ सेवासँगै खल्ती केवल भुक्तानी सेवामा सीमित नरही पूर्ण ट्राभल प्लेटफर्मका रूपमा रूपान्तरण भएको ।

स्याफायर म्यानेजमेन्ट ग्रुप प्रालिसँगको प्राविधिक साझेदारीमा सुरु गरिएको यस सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३०० भन्दा बढी ३ देखि ५ तारे होटलहरू खल्ती एपबाटै तुरुन्तै बुकिङ र भुक्तानी गर्न सक्नेछन् । स्वचालित बुकिङ प्रणाली रहेकाले भुक्तानी हुनासाथ प्रयोगकर्ताले तत्कालै कन्फर्मेसन प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

‘यात्रा अझ सजिलो खल्तीमै’ भन्ने नाराका साथ सुरु गरिएको यस सेवाको अवसरमा कम्पनीले विशेष अफरसमेत सार्वजनिक गरेको छ । अफर अवधिभर होटल बुक गर्ने प्रयोगकर्तामध्ये गोलाप्रथाद्वारा छानिएका २० जना विजेताले प्रतिबुकिङ अधिकतम १ हजार ५ सय रूपैयाँसम्म ५० प्रतिशत क्यासब्याक पाउनेछन् ।

नयाँ सेवाबारे जानकारी दिँदै आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रविण रेग्मीले भने, ‘आन्तरिक पर्यटन बढ्दै गएको अवस्थामा उडान, बस र होटल एउटै एपबाट बुक गर्न सकिने सुविधाले नेपाली यात्रुको अनुभवलाई थप सहज बनाउनेछ। यो सेवा हाम्रो ‘एउटै एपमा सम्पूर्ण यात्रा’ भन्ने दीर्घकालीन लक्ष्यतर्फको महत्वपूर्ण कदम हो ।’

त्यस्तै, स्याफायर म्यानेजमेन्ट ग्रुपका निर्देशक आशिष प्रसाईले खल्तीसँगको साझेदारीले नेपालका होटल व्यवसायीलाई १ करोडभन्दा बढी डिजिटल प्रयोगकर्तासम्म प्रत्यक्ष पहुँच दिने र यात्रुलाई भरपर्दो बासस्थानको सुनिश्चितता प्रदान गर्ने बताए । प्रयोगकर्ताले खल्ती एपको ‘ट्राभल तथा इन्टरटेनमेन्ट’ खण्डमा गएर यो सेवा प्रयोग गर्न सक्नेछन् । बुकिङसम्बन्धी सहायताका लागि ग्राहक सहायता सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रविधि