नेपालको डिजिटल पूर्वाधार विस्तार गर्दै समावेशी आर्थिक विकासलाई गति दिन विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडसँगको साझेदारीमा वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड र यसको सहायक संस्था डाटा वर्ल्ड लिमिटेडमा २९ मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ।
यस लगानीमार्फत नेपालको फाइबर नेटवर्क विस्तार गर्ने र देशभर अत्याधुनिक डाटा सेन्टरहरूको विकास गरिनेछ, जसले ग्रामीण भेगका सर्वसाधारणलाई समेत उच्चगति इन्टरनेट पहुँचमा जोड्ने लक्ष्य लिएको छ।
‘वर्ल्डलिंकमा हामी विश्वस्त छौं कि जडान नै अवसरसम्मको पुल हो,’ वर्ल्डलिंकका संस्थापक तथा अध्यक्ष दिलीप अग्रवालले भने, ‘आईएफसी र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगको यो रणनीतिक साझेदारीले नेपालको डिजिटल भविष्यलाई थप बलियो बनाउनेछ।’
डाटा सेन्टर पूर्वाधार नेपालको आगामी प्रविधि-केन्द्रित अर्थतन्त्रको मुख्य आधार बन्ने अपेक्षा गरिएको छ। यो साझेदारी अन्तर्गत नेपालमै पहिलोपटक EDGE प्रमाणित डाटा सेन्टरको निर्माण हुने बताइएको छ।
‘नेपाल सरकारको १६औं राष्ट्रिय योजना र डिजिटल नेपाल फ्रेमवर्कमा आधारित यो लगानीले देशको समग्र डिजिटल पहुँच विस्तारमा टेवा पुर्याउनेछ,’ आईएफसीका दक्षिण एशिया क्षेत्रीय निर्देशक इमाद एन. फाखौरीले भने, ‘हामी ग्रामीण भेगमा इन्टरनेट पहुँच वृद्धि र रोजगारी सृजनामार्फत समावेशी विकासमा योगदान गर्न चाहन्छौं।’
डिजिटल पूर्वाधार निर्माणमा वातावरणमैत्री प्रविधि र सुदृढ फाइबर-टु-होम प्रविधिको प्रयोग गरिनेछ। आईएफसीको सहायतामा वर्ल्डलिंकले महिलाको कार्यक्षेत्रमा सहभागिता बढाउने योजना पनि अघि सारेको छ।
आईएफसीका एशिया तथा प्रशान्त क्षेत्रका पूर्वाधार तथा प्राकृतिक स्रोत निर्देशक विक्रम कुमारका अनुसार नेपालको डिजिटल क्षेत्रमा नवप्रवर्तन र वृद्धिको अपार सम्भावना छ। ग्रामीण क्षेत्रमा ब्रडब्यान्ड पूर्वाधार अभाव भएकाले डाटा सेन्टरले ठूलो भूमिका खेल्नेछ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोरख रानाले वर्ल्डलिंक, डाटा वर्ल्ड, आईएफसी र स्ट्यान्डर्ड चार्टर्ड बैंकबीचको यो ऐतिहासिक सहकार्यले नेपालको इन्टरनेट पहुँच र डाटा सेन्टर क्षमतामा क्रान्तिकारी परिवर्तन ल्याउने बताए ।
अस्ट्रेलियाले दियो प्राधिकरणलाई विशेष ड्रोन
खल्ती होटल्स सेवा सञ्चालनमा, अब एउटै एपबाट होटल, उडान र बस बुकिङ
नास आईटीको चौथो साधारणसभा सम्पन्न, अध्यक्षमा दीपेन चापागाईं चयन
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर
नास-आईटीको नेतृत्वमा नयाँ आईटी पाठ्यक्रम तयार हुँदै, पहिलो वर्षदेखि काम गर्दै सिक्न पाइने
फोनेपेको सीईओमा दिवस कुमार पुन: नियुक्त
