नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा चिया खेती सुरुआत गरिएको छ । गैँडाकोट–१८ को बसेनी गाउँमा परीक्षणको रूपमा चिया खेती सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले १८ वडा रहेको यस पालिकाको पहाडी क्षेत्रमा पर्ने बसेनी गाउँमा परीक्षणका लागि सात हजार ५०० चियाको विरुवा लगाइएको बताउनुभयो । पहाडी क्षेत्र भएकाले यहाँको भूगोल र हावापानी उपयुक्त भएकाले परीक्षणका लागि चिया खेती सुरु गरिएको उनको भनाइ छ ।
“गैँडाकोटको यो १८ नम्बर वडा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थान हो” उनले भने, “यसै वर्षदेखि यहाँ पूर्वाधार विकास गरेर भविष्यमा बसेनीलाई पर्यटकीय गाउँको रूपमा विकास गर्ने नगरको योजना छ ।” गैँडाकोट नगर उपप्रमुख शान्ति कोइरालाले गैँडाकोट नगरपालिका प्राकृतिक रूपमा सुन्दर र हावापानीले विविधताले भरिपूर्ण पालिका भएको बताए ।
हाल व्यक्तिगत र सामुदायिक रूपमा बसेनीमा चिया खेती गरिएको उहाँको भनाइ छ । “अहिले हामीले परीक्षणका रूपमा चिया खेती सुरु गरेका छौँ” उनले भने, “यसले राम्रो उत्पादन दियो र स्थानीय आकर्षित भए भने हामीले खेती बिस्तार गर्ने योजना बनाएका छौँ ।” गैँडाकोटमा पर्ने पूर्वपश्चिम राजमार्गबाट आधा घण्टाको दूरीमा नै चिसो हावापानी र बाह्रै महिना जाडो हुने क्षेत्र रहेको भन्दै उहाँले गर्मी र जाडो दुवै हावापानी भएकाले यहाँ पर्यटकीय सम्भावना रहेको बताए ।
बसेनीमा चिया खेती गरेर पर्यटकलाई आकर्षित गर्ने योजना रहेको कोइरालाको भनाइ छ । बसेनीमा चिया बगान, सुन्तला खेती बिस्ता, घरबास (होमस्टे) सञ्चालन गरी पर्यटकीय क्षेत्र बनाउने अवधारणाअनुसार आफूहरु अगाडि बढेको उनले बताए । गैँडाकोट नगरपालिका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले गैँडाकोटको बसेनीमा चिया उत्पादन गरेर बिक्री गर्नभन्दा पनि पर्यटकीय दृष्टिकोणले खेती गरिएको बताए ।
यसैवर्षदेखि यहाँ होमस्टे निर्माण गर्ने योजना रहेको जनाउँदै शर्माले होमस्टेमा आउने पर्यटकलाई लक्षित गरेर उपहारका लागि चियाको ब्राण्डिङ गरिने बताए । चिया बगान हेर्न इलाम नै जानुपर्ने अवस्थाको अन्त्य गर्न र यहाँको पर्यटन प्रवद्र्धन गर्न चिया खेती सुरु गरिएको उनको भनाइ छ । “अहिले यस क्षेत्रबाट ठूलै सङ्ख्यामा पर्यटक इलाम जाने गर्नुभएको छ” उनले थपे, “इलाम जाने पर्यटकलाई गैँडाकोट भित्र्याउने र उहाँहरुलाई घरमा जाने बेलामा उपहार दिने गरी चियाको खेती सुरु गरेका छौँ ।”
गैँडाकोटमा आएर बस्ने पर्यटकलाई ‘मायाको चिनो’स्वरुप गैँडाकोटको चिया र स्थानीय उत्पादन कोसेली पठाइउने योजना रहेको शर्माले सुनाए । जिल्लाकै विकट गाउँको रूपमा रहेको यस वडामा पछिल्लो समय विकास निर्माणका पूर्वाधार निर्माण हुँदै गएपछि आवागमन समेत सहज भएको उनको भनाइ छ । गाउँमा गरिएको चिया खेतीको सुरुआती तरणमा बसेनी टोल सुधार समितिले रेखदेख गर्ने र वडा कार्यालयले संरक्षण गर्नेगरी खेती सुरु गरिएको शर्माले बताए ।
उत्पादन सुरु भएपछि र स्थानीय खेतीमा आकर्षित भएपछि चिया खेती उपभोक्ता समूह बनाएर चिया बगान नै उनीहरुलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको शर्माको भनाइ छ । अहिले सुरु गरिएको चिया खेतीबाट दुई वर्षभित्र उत्पादन लिन सकिने अपेक्षा गरिएको उनले बताए ।
२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
नेसनल प्याब्सनसहित अभिभावक संघबिच ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ मा छलफल, सरकारसँग संवाद अघि बढाइने
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
अर्थतन्त्रलाई नयाँ दिशादिनेगरी बजेट आएको छ: अध्यक्ष पाण्डे
स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्छ: उपाध्यक्ष श्रेष्ठ
बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ: कमलेश अग्रवाल
एसेट म्यानेजमेन्ट कम्पनीको मोडालिटी कानूनमै स्पष्ट पार्छौं: कार्यकारी निर्देशक पौडेल






