नेभिगेशन
गुड स्टोरी

एन्थ्रोपिकको आईपीओपछि २ हजार ८०० कर्मचारी बने करोडपति

अमेरिकी कृत्रिम बौद्धिकता (एआई) कम्पनी एन्थ्रोपिकको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) पछि कम्पनीका हजारौँ कर्मचारी करोडपति बनेका छन्। सार्वजनिक विवरणअनुसार कम्पनीका करिब २ हजार ८०० कर्मचारीको सम्पत्ति कम्तीमा १ करोड अमेरिकी डलर पुगेको छ।

त्यस्तै, ४०० भन्दा बढी कर्मचारीको सम्पत्ति १० करोड अमेरिकी डलरभन्दा माथि पुगेको बताइएको छ। कम्पनीको सेयर बजारमा प्रवेशसँगै सेयर स्वामित्व भएका कर्मचारीको सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको हो। यद्यपि, कम्पनीले लागू गरेको सेयर बिक्रीसम्बन्धी प्रतिबन्धका कारण कर्मचारीले तत्काल आफ्नो सेयर बिक्री गरेर उक्त सम्पत्तिलाई नगदमा परिणत गर्न पाउने छैनन्।

एन्थ्रोपिकले आईपीओमार्फत ८१ अर्ब ३० करोड अमेरिकी डलर जुटाएको बताइएको छ। यो निष्कासनले स्पेसएक्सको ७५ अर्ब अमेरिकी डलरको आईपीओलाई उछिन्दै विश्वकै ठूलो आईपीओको कीर्तिमान बनाएको दाबी गरिएको छ।

कम्पनीले प्रतिकित्ता ८३ अमेरिकी डलरका दरले सेयर निष्कासन गरेको थियो। कारोबार सुरु हुँदा सेयर मूल्य बढेर १११ डलर ५० सेन्ट पुगेको थियो भने कारोबारको अन्त्यमा ९७ डलर १७ सेन्ट कायम भएको थियो। यससँगै पहिलो कारोबार दिनमा सेयर मूल्यमा करिब १७ प्रतिशत वृद्धि भएको थियो।

सेयर बजारमा प्रवेशपछि एन्थ्रोपिकको बजार पुँजीकरण करिब १ हजार ८०० अर्ब अमेरिकी डलर पुगेको थियो। कारोबारका क्रममा कम्पनीको मूल्य केही समय २ हजार अर्ब डलरभन्दा माथि पुगेको विवरणमा उल्लेख छ। यससँगै एन्थ्रोपिक अमेरिकी बजारका सबैभन्दा मूल्यवान् कम्पनीमध्ये सातौँ स्थानमा पुगेको दाबी गरिएको छ।

सन् २०२१ मा स्थापना भएको एन्थ्रोपिकका संस्थापकमा डारियो अमोडेई, ड्यानिएला अमोडेईसहित सात जना रहेका छन्। कम्पनीले विकास गरेको एआई प्रणाली ‘क्लाउड’ (Claude) यसको प्रमुख उत्पादन हो।

यसअघि गुगल, माइक्रोसफ्ट र एनभिडियाबाट समेत कम्पनीले विभिन्न चरणमा ठूलो लगानी प्राप्त गरेको थियो। यी कम्पनीबाट प्राप्त लगानीको कुल रकम करिब २६ अर्ब अमेरिकी डलर रहेको बताइएको छ।

एन्थ्रोपिकको आईपीओ सफलताले कम्पनीका संस्थापक र लगानीकर्तालाई मात्रै नभई कर्मचारीलाई समेत ठूलो आर्थिक लाभ पुर्‍याएको विवरणले देखाएको छ। विशेषगरी प्रविधि कम्पनीमा प्रारम्भिक चरणदेखि काम गर्ने कर्मचारीले सेयर तथा अन्य स्वामित्वका माध्यमबाट कम्पनीको वृद्धिसँगै ठूलो सम्पत्ति आर्जन गर्न सक्ने विषयलाई यस घटनाले पुनः चर्चामा ल्याएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप गुड स्टोरी