एआई एसोसिएसन नेपाल र प्रविधि पत्रकार मंच (टीजेएफ)बीच कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी सचेतना, ज्ञान आदानप्रदान र अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्यले सहकार्यको समझदारी भएको छ । बुधबार एक कार्यक्रमका बीच एआई एसोसिएसन नेपालका अध्यक्ष शैलेन्द्र राज गिरी र टीजेएफका अध्यक्ष पूर्णभक्त दुवालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार दुवै संस्थाले कृत्रिम बुद्धिमत्ता, मेशिन लर्निङ, डाटा साइन्स, अटोमेशन, जेनेरेटिभ प्रविधि, एआई नीतिनियम तथा यसको नैतिक प्रयोग जस्ता विषयमा तालिम, कार्यशाला र ज्ञान आदानप्रदान कार्यक्रम सञ्चालन गर्नेछन् । यसका लागि एआई एसोसिएसन नेपालले टीजेएफका सदस्य पत्रकारलाई लक्षित गर्दै विभिन्न सचेतनामूलक तथा प्राविधिक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।
टीजेएफले एआई क्षेत्रका विकास, नवप्रवर्तन, अवसर, चुनौती, जोखिम तथा जिम्मेवार प्रयोगसम्बन्धी विषयमा सामग्री उत्पादन गरी आफ्ना सदस्य सञ्चार माध्यममार्फत व्यापक रूपमा प्रसारण गर्नेछ । दुवै पक्षले आवश्यकताअनुसार गोष्ठी, सम्मेलन, सार्वजनिक संवाद तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागिता र अवलोकन भ्रमणका अवसरहरूमा समेत सहकार्य गर्नेछन् ।
सम्झौतामा प्रत्येक वर्ष कृत्रिम बुद्धिमत्ता तथा प्रविधिसम्बन्धी विषयमा कम्तीमा एक संयुक्त अनुसन्धान परियोजना सञ्चालन गर्ने उल्लेख गरिएको छ । यस्ता कार्यक्रमका लागि आवश्यक आर्थिक व्यवस्थापन आपसी सहमतिमा तय गरिनेछ ।
२ वर्षका लागि मान्य रहने उक्त समझदारी पत्र नेपालका कानुनअनुसार कार्यान्वयन हुनेछ । साथै, दुवै पक्षले आपसी सहमतिमा संशोधन गर्न सक्ने र कुनै विवाद उत्पन्न भएमा आपसी परामर्शमार्फत समाधान गर्ने प्रावधानसमेत राखिएको छ ।
अस्ट्रेलियाले दियो प्राधिकरणलाई विशेष ड्रोन
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
भिक्टोरियन इन्टरनेशनल एजुकेशन अवार्डको फाइनलिस्टमा नेपाली युवा कुशल पौडेल
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
