खाडी क्षेत्रमा देखिएको युद्ध र त्यसका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएकोप्रति नेपाल ट्रक यातायात व्यवसायी महासंघले आपत्ति जनाएको छ। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले जारी गरेको विज्ञप्तिमा हालको मूल्यवृद्धिले यातायात क्षेत्रसहित सम्पूर्ण जनजीवनमा नकारात्मक असर पर्ने उल्लेख गरिएको छ।
महासंघले नेपाल आयल निगमले २०८२ चैत १ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थको मूल्य अस्वाभाविक रूपमा बढाएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अमेरिका, इजरायल र इरानबिचको युद्धका कारण खाडी क्षेत्रबाट विश्व बजारमा पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति प्रभावित हुँदा कच्चा तेलको मूल्य बढेको र त्यसको असर नेपालमा परेको निगमकाे भनाइ छ।
विज्ञप्तिमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण आम नागरिक आक्रोशित बन्न पुगेको उल्लेख गर्दै यसको प्रत्यक्ष असर यातायात व्यवसायमा पर्ने बताइएको छ। महासंघका अनुसार वैज्ञानिक प्रणालीका आधारमा निर्धारण गरिएको भाडादरअनुसार ट्रक सञ्चालन गर्ने र पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँ तलमाथि हुँदा भाडादर समायोजन गर्ने विषयमा यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी महासंघबिच लिखित सहमति भइसकेको थियाे ।
डिजेलको मूल्य बढेसँगै सोही वैज्ञानिक विधिअनुसार ट्रक भाडादर स्वचालित रूपमा समायोजन गर्न सरकारका सम्बन्धित निकायसँग महासंघले माग गरेको छ। अहिले भाडादर प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अवस्थामा पेट्रोलियम पदार्थको मूल्य बढाइँदा ट्रक व्यवसायीलाई पुरानै भाडादरमा व्यवसाय सञ्चालन गर्न कठिन हुने महासंघले स्पष्ट पारेको छ।
महासंघले २०६५ सालदेखि पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा सवारीसाधनको भाडा समायोजन गर्ने वैज्ञानिक नीति लागू गरिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको जनाएको छ। साथै २०८१ साल पुस २२ यता भाडादरको पुनरावलोकनसमेत नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन पनि माग गरिएको थियाे।
यसैबिच नेपाल आयल निगमले आजदेखि पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य बढाएको छ। बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौँ, पोखरा र दिपायल मा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेल–मट्टीतेल १५२ रुपैयाँ पुगेको छ। दोस्रो वर्गअन्तर्गत पर्ने दाङ र सुर्खेत मा पेट्रोल १७१ रुपैयाँ तथा डिजेल–मट्टीतेल १५१ रुपैयाँ कायम गरिएको छ।
त्यस्तै पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज मा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ ।
२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
नेसनल प्याब्सनसहित अभिभावक संघबिच ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ मा छलफल, सरकारसँग संवाद अघि बढाइने
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
अर्थतन्त्रलाई नयाँ दिशादिनेगरी बजेट आएको छ: अध्यक्ष पाण्डे
स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्छ: उपाध्यक्ष श्रेष्ठ
बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ: कमलेश अग्रवाल
एसेट म्यानेजमेन्ट कम्पनीको मोडालिटी कानूनमै स्पष्ट पार्छौं: कार्यकारी निर्देशक पौडेल






