ग्लोबल आइएमई बैंकका ग्राहकहरूले अब बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी सिधै आईपीओमा आवेदन दिन सक्ने भएका छन् ।
बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङमा थप सुविधा दिने उद्देश्यले यो नयाँ व्यवस्था लागु गरेको बैंकले जानकारी दिएको छ । यसअघि बैंकको मोबाइल एपबाट रकमान्तर (फन्ड ट्रान्सफर), क्यूआर पेमेन्ट तथा विभिन्न सेवाहरूको बिल भुक्तानीजस्ता सुविधाहरू उपलब्ध हुँदै आएकोमा अब आईपीओ भर्ने सुविधा पनि थपिएको हो ।
बैंकले डिजिटल सेवालाई ‘लाइफस्टाइल बैंकिङ’ मा परिणत गर्दै सेयर बजारसँग सम्बन्धित सेवाहरू एकीकृत गरेको ट्रान्जेक्सन बैंकिङ प्रमुख प्रकाश पौडेलले जानकारी दिए । उनले मोबाइल बैंकिङ अब पैसा पठाउन र टप–अप गर्नमा मात्र सीमित नरहेको बताए । उनले भने, ‘विगतमा हामीले एफडी (मुद्दती निक्षेप) खोल्ने र लोन लिने सुविधा थप्यौं । अब भने हामीले ठुलो संख्यामा रहेका ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गर्दै आईपीओ भर्ने सुविधा थपेका छौँ ।’
पौडेलका अनुसार अब ग्राहकले आईपीओ भर्न मेरो सेयरको वेबसाइट वा अन्य कुनै प्लेटफर्म खोजिरहनु पर्दैन । ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै यो काम सहजै हुनेछ । उनले भने, ‘कुन कम्पनीको आईपीओ आयो । कुन वैदेशिक रोजगारीका लागि हो र कुन सर्वसाधारणका लागि हो भनेर अब न्युज पोर्टल चाहार्नु पर्दैन । एपले नै ग्राहकलाई ‘अलर्ट’ पठाउँछ । यसले गर्दा व्यस्तताका कारण आईपीओ छुट्ने समस्या समाधान हुन्छ ।’
उनले यो प्रक्रियालाई सिमलेस बनाइएको दाबी गरे । एकपटक डिम्याट र सीआरएन नम्बर राखेर भेरिफाई गरेपछि भविष्यमा आउने आईपीओहरू केही क्लिकमै भर्न सकिने उनले बताए ।
त्यस्तै, बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख विज्ञान अधिकारीले बैंकको उद्देश्य ग्राहकलाई एउटै एपभित्र सबै वित्तीय सुविधा दिनु रहेको बताए । उनले भने, ‘हामीले बैंकिङ र पुँजी बजारलाई एकै ठाउँमा ल्याउने प्रयास गरेका छौं । ग्राहकले सेयर बजारको जानकारी लिन वा आईपीओ भर्न छुट्टै लगइन गर्न नपरोस् भन्ने हाम्रो चाहना हो ।’
पहिलो पटक प्रयोग गर्दा ग्राहकले आफ्नो डिम्याट नम्बर राखेर भेरिफाई गर्नुपर्छ । सीडीएससीको सिस्टमसँग म्याच भएपछि सीआरएन नम्बर स्वतः लिंक हुने उनले बताए । उनले दोस्रो बजारमा लगानी गर्ने वा रुचि राख्नेहरूका लागि एपमा ‘लाइभ मार्केट’ फिचर थपिएको पनि उनले जानकारी दिए ।
अधिकारीले भने, ‘यसले ग्राहकलाई सुसूचित लगानीकर्ता बन्न मद्दत गर्छ । आज मेरो पोर्टफोलियोको भ्यालु कति छ? कुन सेयरको मूल्य कति छ? भनेर हेर्न अब पैसा तिरेर अन्य एप वा पोर्टलको सब्स्क्रिप्सन लिइराख्नु पर्दैन । एपमै बाइ–सेल क्याल्कुलेटर, स्टक कम्प्यारिजन र वाचलिस्टको सुविधा छ ।’ बैंकले आफ्ना करिब २५ लाख ग्राहकलाई लक्षित गर्दै यो सुविधा ल्याएको हो । यो सुविधा सुरु भएसँगै ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूले आईपीओ भर्नका लागि अन्य माध्यम (जस्तैः मेरो सेयर) को प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।
पुरानो सुविधासँगै नयाँ सेवा थप
ग्लोबल स्मार्ट प्लस एपमार्फत बैंकले यसअघि नै रकमान्तर , क्यूआर भुक्तानी तथा दैनिक उपभोग्य सेवाहरूको बिल भुक्तानीजस्ता विभिन्न सुविधाहरू प्रदान गर्दै आइरहेको थियो । यी सेवाहरूलाई निरन्तरता दिँदै बैंकले प्रयोगकर्ताहरूलाई थप सुविधा दिन आईपीओ आवेदनको फिचर थप गरेको हो । यो सुविधा सुरु भएसँगै ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूले आईपीओ भर्नका लागि अन्य माध्यमहरूको प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ । अब उप्रान्त ग्राहकले बैंकको मोबाइल बैंकिङबाटै सिधै आवेदन दिन सक्नेछन् ।
कसरी भर्ने ?
बैंकका अनुसार, यो सेवा प्रयोग गर्न ग्राहकले एपभित्र रहेको ‘आईपीओ म्यानेजमेन्ट’ अप्सनमा जानुपर्नेछ । त्यहाँ आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपछि प्रयोगकर्ताले तुरुन्तै सीआरएन नम्बर प्राप्त गर्न सक्नेछन् । सीआरएन नम्बर प्राप्त भएपछि हाल खुला रहेका आईपीओहरूमा सहजै आवेदन दिन सकिनेछ । त्यस्तै, बैंकले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै सूचना दिने व्यवस्था पनि गरेको छ । कुनै पनि कम्पनीको आईपीओ आवेदन खुला हुँदा बैंकले आफ्ना ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूलाई मोबाइल बैंकिङ एपमार्फत नै जानकारी प्रदान गर्नेछ ।
यस सेवाले गर्दा ग्राहकहरूले आईपीओ खुलेको जानकारी समयमै पाउने र एपबाटै सजिलै आवेदन दिन सक्ने हुँदा सेवाग्राहीलाई ठुलो राहत मिल्ने बैंकले विश्वास लिएको छ ।
ग्लोबल स्मार्ट प्लस: लाइभ मार्केटदेखि व्यक्तिगत सेयर लगानी ट्रयाक गर्न सक्ने सुविधा
माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना हुँदै, लेखा र व्यवसायको भविष्यमा छलफल हुने
नेपाल विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ साइन्स बैंगलोरबीच शैक्षिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर
नेपालीको दैनिकीसँग जोडिएको डिजिटल प्लेटफर्म इसेवा
लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रम सीपको शुरुवात
सिबिफिनको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ

-1769682233.jpg)
