नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको प्रथम वार्षिक साधारण सभा शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न साधारणसभाले कम्पनीको लगानी दायरा विस्तार गर्न सरकारी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी कोषहरूसँग सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्य गर्दै ठुला र रोजगारमूलक आयोजनामा लगानी गर्ने निर्णय गरेको छ।
कम्पनीले सम्भाव्यता देखिएका जलविद्युत, पर्यटन, सूचना प्रविधिजस्ता ठुला सहरी परियोजनाका अतिरिक्त कृषि, घरेलु, साना तथा मझौला उद्योगहरूमा लगानी विस्तार गरी ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने निर्णय गरेको छ।
साथै, एनडीपी भेन्चर तथा एनडीपी डेभलपर नामका छुट्टै संरचना खडा गरी पीईभीसी तथा सहरी पूर्वाधार तथा आवास क्षेत्रमा लगानी गर्ने निर्णय पनि साधारणसभाले गरेको छ। साधारण सभामा कम्पनीको प्रथम वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ढकालले लगानीलाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न प्रणालीहरूको विकास गरी लगानी विविधीकरण र जोखिम व्यवस्थापनका प्रयासहरू गरिएको बताए।
उनले अहिलेको विशिष्ट परिस्थितिमा व्यवसायीहरूको मनोबल खस्किएको र थप लगानीका लागि तयार हुन समय लाग्न सक्ने भएकाले राज्यले व्यवसायी र व्यवसायको सुरक्षाको प्रत्याभूति गरी लगानीको वातावरण बनाउन जरुरी भएको बताए।
अध्यक्ष ढकालले शिथिल अर्थतन्त्रलाई लयमा ल्याउन, उत्पादन तथा रोजगारी बढाउन र समग्र उद्यमी व्यवसायीहरूको मनोबल बढाउँदै मुलुकलाई आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढाउन यस लगानी कम्पनीले विशेष भूमिका खेल्न सक्ने बताए।
उनले भने– ‘यस्तो बेलामा हामीले यस लगानी कम्पनीमार्फत ठुला र रणनीतिक उद्योग–व्यवसायमा लगानी गर्दै मुलुकको अर्थतन्त्र लयमा ल्याउन, आर्थिक गतिविधिलाई अघि बढाउन, रोजगारी सिर्जना गर्न सक्छौँ।’
अध्यक्ष ढकालले यस लगानी कम्पनीमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट व्यापक चासो व्यक्त भएको बताए । अमेरिका भ्रमणको सन्दर्भ उल्लेख गर्दै उनले भने– ‘त्यहाँ रहेका नेपालीहरूले नेपालको अहिलेको अवस्था, लगानी सम्भावना र यस लगानी कम्पनीको बारेमा धेरै चासो राख्नुभएको थियो। धेरै स्वदेशी लगानीकर्ता तथा गैर आवासीय नेपालीहरूले यसमा लगानी गर्न तयार हुनुहुन्छ।’
उनले कम्पनीले स्वदेश तथा विदेशमा रहेका व्यवसायी तथा लगानीकर्ताहरूलाई नेपालमा उद्योग–व्यवसाय स्थापना, सञ्चालन तथा विस्तारका लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने, रुग्ण तथा समस्याग्रस्त उद्योग व्यवसायहरूको पुनरुत्थान गर्ने र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने परियोजनाहरूलाई सहयोग पुर्याउने बताए।
अन्तमा, अध्यक्ष ढकालले यस कम्पनीमार्फत लगानी गरी मुलुकको आर्थिक समृद्धि र विकासमा साझेदारी गर्न सबै उद्योगी, व्यवसायी तथा गैर आवासीय नेपालीहरूलाई आग्रह समेत गरे। एक वर्षअघि स्थापना गरिएको यस कम्पनीको कुल पुँजी १० अर्ब रुपैयाँ रहेको छ । हाल यस कम्पनीमा ४६ जिल्लाका २४६ जना सेयर धनी रहेका छन्।
२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
नेसनल प्याब्सनसहित अभिभावक संघबिच ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ मा छलफल, सरकारसँग संवाद अघि बढाइने
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
अर्थतन्त्रलाई नयाँ दिशादिनेगरी बजेट आएको छ: अध्यक्ष पाण्डे
स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्छ: उपाध्यक्ष श्रेष्ठ
बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ: कमलेश अग्रवाल
एसेट म्यानेजमेन्ट कम्पनीको मोडालिटी कानूनमै स्पष्ट पार्छौं: कार्यकारी निर्देशक पौडेल






