नेपालमा मनोविद, मनोपरामर्शदाता र मनोचिकित्सकलाई एउटै छातामुनि ल्याउने उद्देश्यले सोसाइटी अफ मेन्टल हेल्थ प्रोफेसनल्स इन नेपाल (SOMHPIN/सोमपिन) नामक संस्था गठन गरिएको छ ।
शनिबार नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा सम्पन्न विशेष भेलाले संस्थाको घोषणा गरेको हो । करिब ७० जना मानसिक स्वास्थ्य क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको उक्त भेला उत्साहपूर्ण र छलफलमैत्री वातावरणमा सम्पन्न भएको थियो ।
सहभागीहरूले मानसिक स्वास्थ्यलाई नेपालको समग्र विकास र सामाजिक न्यायसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै हाल यो क्षेत्र अझै असंगठित रहेको निष्कर्ष निकालेका थिए ।
भेलाले सर्वसम्मत निर्णय गर्दै ११ सदस्यीय तदर्थ समिति पनि गठन गरेको छ । समितिको अध्यक्षमा उमेश शिवाकोटी, उपाध्यक्षमा पम्मी ठाकुर, सचिवमा कपिल शर्मा, सहसचिवमा वासु आचार्य र कोषाध्यक्षमा मोनिका खड्का चयन भएका छन् । त्यस्तै, प्रभा थापा, प्रतिक्षा काफ्ले, प्रणव राज रेग्मी, रोमन प्रजापती, सुस्मिता न्यौपाने र दिपा आचार्य सदस्यका रूपमा तदर्थ समितिमा चयन भएका छन् ।

नयाँ संस्था सोमपिनले मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत पेशेवरहरूको पेशागत एकता कायम गर्दै सरकार र सम्बन्धित निकायसँग सहकार्य गर्नेछ ।
यस्तै मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकतामा पुर्याउने, गुणस्तरीय र पारदर्शी सेवा सुनिश्चित गर्ने तथा अनुसन्धान, कार्यशाला तथा तालिममार्फत क्षमता अभिवृद्धि गर्ने संस्थाको उद्देश्य छ ।
यससँगै विद्यालय, समुदाय र कार्यालयस्तरमा मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने, अन्तर्राष्ट्रिय सहकार्यमार्फत नयाँ अनुसन्धान र प्रविधि नेपालमा भित्र्याउने र सेवाग्राहीको अधिकारको संरक्षण गर्ने पनि संस्थाको योजना रहेको छ ।
आगामी दिनमा तदर्थ समितिले संस्थाको नियमावली तयार गर्ने, दर्ता प्रक्रिया अघि बढाउने, सदस्यता विस्तार गर्ने र साधारण सभा आह्वान गर्ने कार्यलाई प्राथमिकतामा राख्ने जनाएको छ। मानसिक स्वास्थ्यलाई दिगो विकास, श्रम उत्पादनशीलता र सामाजिक समृद्धिसँग जोड्दै सोमपिनले आगामी दिनमा प्रभावकारी योगदान गर्ने अपेक्षा गरिएको छ।

२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
नेसनल प्याब्सनसहित अभिभावक संघबिच ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ मा छलफल, सरकारसँग संवाद अघि बढाइने
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
अर्थतन्त्रलाई नयाँ दिशादिनेगरी बजेट आएको छ: अध्यक्ष पाण्डे
स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्छ: उपाध्यक्ष श्रेष्ठ
बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ: कमलेश अग्रवाल
एसेट म्यानेजमेन्ट कम्पनीको मोडालिटी कानूनमै स्पष्ट पार्छौं: कार्यकारी निर्देशक पौडेल






