नेभिगेशन
गुड न्युज

ग्लोकल टिन हिरो नेपाल २०२५ बाट धनुषाका १७ वर्षीय अभियन्ता कृष यादव सम्मानित

धनुषाका १७ वर्षीय अभियन्ता तथा सामग्री निर्माता कृष यादवलाई ‘गोल्छा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टिन हिरो नेपाल २०२५ को उपाधि प्रदान गरिएको छ। धनुषाको कचूरीका यादवलाई ग्लोकल प्रालिद्वारा ललितपुरको द प्लाजामा आयोजित एक समारोहमा यो सम्मान प्रदान गरिएको हो ।

विगत एक दशकदेखि, ग्लोकल टिन हिरो पहलले शैक्षिक क्षेत्रभन्दा बाहिर उत्कृष्ट प्रदर्शन गर्ने किशोर-किशोरीहरूलाई मान्यता दिँदै उनीहरूको असाधारण प्रतिभा प्रदर्शन गर्ने मञ्च प्रदान गर्दै आएको छ। ग्लोकल टिन हिरो नेपालले किशोर-किशोरीहरूको पहल, सिर्जनात्मकता र उत्साहलाई गहिरो रूपमा कदर गर्छ, जसले उनीहरूलाई विश्वव्यापी र स्थानीय क्षेत्रहरूबीचको सकारात्मक परिवर्तनका लागि उत्प्रेरक बन्न सशक्त बनाउँछ।

प्रतियोगितामा कृषलाई शीर्ष ६ जना अन्तिम प्रतिस्पर्धीहरूमध्येबाट छनोट गरिएको थियो। तीमध्ये मानुषी न्यौपाने (१७ वर्षीया -स्याङ्जाकी SRHR अभियन्ता), निश्चल ढुङ्गाना (१९ वर्षीय-कपिलवस्तुका जलवायु न्याय अभियन्ता), अक्सफोर्ड आचार्य (१५ वर्षीय-जुम्लाका नीति अभियन्ता), रेनुका सिंह (१८ वर्षीया-सर्लाहीकी कृषि उद्यमी) र सफल पौडेल (१८ वर्षीय-रूपन्देहीका AI डेभलपर) रहेका थिए।

कृष यादव एक १७ वर्षीय सामाजिक रूपमा जिज्ञासु कन्टेन क्रिएटर हुन्, जसलाई समाजले कसरी कार्य गर्छ र विकसित हुन्छ भन्ने कुरा बुझ्नमा गहिरो रुचि छ। सामाजिक विज्ञानमा बलियो जग बसालेका उनले विभिन्न रचनात्मक टोलीको नेतृत्व गरेका छन्, सार्वजनिक बहसहरू सञ्चालन गरेका छन् र प्रमुख राष्ट्रिय मुद्दाहरूमा वृत्तचित्रहरू निर्माण गरेका छन्।

कृषले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गरेका छन् र नीतिमा केन्द्रित पहलहरूका लागि स्थानीय सरकारहरूसँग काम गर्नु भएकोछ। उनी कथावाचन, शिक्षा र सामाजिक अनुसन्धानमा गहिरो रूपमा संलग्न एक गतिशील किशोर नेता र सामग्री निर्माता हुन्।

गोल्छा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टिन हिरो नेपालको अन्तिम चरणका लागि शीर्ष ६ जना अन्तिम प्रतिस्पर्धीहरूलाई उनीहरूको उपलब्धि, पहल, योगदान र कार्यको प्रभावका आधारमा छोटो सूचीमा राखिएको थियो। अन्तिम प्रतिस्पर्धीहरूले विभिन्न विषयमा आत्म-क्षमता कार्यशालाहरूको शृङ्खलामा पनि भाग लिए र उद्योगका नेताहरू तथा कर्पोरेट व्यक्तित्वहरूसँग आफ्नो ज्ञान बढाउने अवसर प्राप्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप गुड न्युज