नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो ।
वर्तमान आईजीपी दीपक थापा यही भदौ १८ गते मध्यरातिबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि खापुङको नियुक्ति लागू हुनेछ । नवनियुक्त आईजीपी खापुङले भदौ १९ गतेदेखि कार्यभार सम्हाल्नेछन्।
खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख छन् । खापुङ २०५२ कात्तिक २७ मा प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए ।
प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधि पूरा गरेर उनी आगामी कात्तिक २६ मा अवकाशमा जान्छन् । संसदमा छलफलमा रहेको प्रहरी विधेयक पारित नभएको अवस्थामा उनले २ महिना ७ दिन मात्र प्रहरीको कमान्ड समाल्ने छन् ।
२०२७ मंसिर २३ मा तेह्रथुमको मेन्छ्यायोम गाउँपालिकामा–६ मा जन्मिएका उनले जेन्डर स्टडिजमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् ।
प्रबल जनसेवाश्री प्राप्त गरेका खापुङ गीतकार समेत हुन् । केहीदिन अघि मात्र उनले शब्द सिर्जना गरेको ‘चाहिन्न मलाई नदेउ सहारा’ बोलको गीत सार्वजनिक भएको थियो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको हस्तान्तरण





