नेभिगेशन
नयाँ प्रविधि

समाचार एग्रीगेटर प्लेटफर्म छलफल डटकम सार्वजनिक

एआई प्रविधिमा आधारित नयाँ समाचार एग्रीगेटर प्लेटफर्म छलफल डटकम सार्वजनिक गरिएको छ। प्रयोगकर्तामैत्री र प्रविधिमैत्री समाचार पहुँचको लक्ष्यसहित विकास गरिएको यो प्लेटफर्मले पाठकहरूलाई आफ्नै आवश्यकता अनुसार समाचार छान्न, पढ्न र सुरक्षित राख्न सक्ने सुविधा प्रदान गर्छ।

छलफल डटकमले ग्लोबलदेखि हाइपर–लोकल स्तरसम्मका समाचारहरू एउटै स्थानमा ल्याउने उद्देश्य लिएको छ। यसमार्फत विश्वका जुनसुकै स्थानमा बसेका प्रयोगकर्ताहरूले आफ्नै जिल्ला, प्रदेश वा देशको समाचार सजिलै फिल्टर गरी हेर्न सक्नेछन्। स्थान, मिति, विषयवस्तु र भावनात्मक टोनअनुसार समाचार छनोट गर्ने सुविधा यस प्लेटफर्ममा उपलब्ध छ।

प्लेटफर्मको मुख्य विशेषता भनेको एआईद्वारा तयार पारिने समाचार सारांश हो। प्रत्येक समाचारसँग संक्षिप्त, स्पष्ट र उद्देश्यपूर्ण एआई–सारांश रहने भएकाले पाठकले समाचारको मूल सन्देश केही सेकेन्डमै बुझ्न सक्छन्। यसले समयको बचत मात्र होइन, समाचार पढ्ने बानीलाई पनि प्रभावकारी बनाउने विश्वास लिइएको छ।

छलफल डटकमले सामुदायिक पत्रकारितालाई समेत प्रवर्द्धन गरेको छ। स्वयंसेवी रिपोर्टरहरूले स्थानीय स्तरका समाचारहरू सिधै पठाउन सक्ने व्यवस्था गरिएको छ, जसले ग्रामीण र दुर्गम क्षेत्रका आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सहयोग पुर्‍याउनेछ।

छलफल डटकमका सह-संस्थापक तथा प्रविधि प्रमुख प्रकाश शाहीका अनुसार समाचार पाठकको नियन्त्रणमा हुनुपर्छ, जसले सशक्त बनाओस्, नकि थिचोमिचो महसुस गराओस्। अर्का सह-संस्थापक उपेन्द्रप्रसाद न्यौपानेले एआई प्रणालीले समाचारको गहिरो विश्लेषण गरी संक्षेपमा प्रस्तुत गर्ने भएकाले सूचना बुझ्न सजिलो हुने बताए।

प्लेटफर्मले चाँडै नै मोबाइल एप, बहुभाषिक समर्थन तथा थप स्मार्ट फिल्टर सुविधासमेत उपलब्ध गराउने जनाएको छ। प्रविधिको प्रयोगमार्फत नेपाली समाचार क्षेत्रलाई थप सशक्त बनाउने दिशामा छलफल डटकमको यो पहललाई महत्वपूर्ण मानिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्